चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनको एक महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेको छ ।
पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गर्न सभापति रवि लामिछानेले बुधबार केन्द्रीय समितिको दोस्रो बैठक बोलाएका छन् । केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा सभापति लामिछानेले मनोनीत गरिने पदाधिकारी तथा केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।
चितवनमा असार ७ देखि १२ गतेसम्म सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट रास्वपाले सभापतिमा रवि लामिछाने, उपसभापतिमा डा. स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य तथा सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगीलाई निर्वाचित गरेको थियो ।
अब सभापति लामिछानेले वरिष्ठ नेता, उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, प्रवक्ता र तीन सहप्रवक्ता मनोनीत गर्न बाँकी छ । पार्टी स्रोतका अनुसार सभापति लामिछानेले कोषाध्यक्ष र प्रवक्ता मनोनीत गर्ने तयारी गरेका छन् ।
महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । केन्द्रीय सभापति र प्रदेश सभापतिहरू स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था छ । १५८ सदस्यीय केन्द्रीय समितिमा अब सभापतिले ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी रहेको छ । बुधबारको बैठकबाट केही केन्द्रीय सदस्यसमेत मनोनीत गर्ने तयारी गरिएको छ ।
रास्वपाका महामन्त्री विपिन आचार्यले केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत हुनसक्ने जानकारी दिए । उनले मनोनीत गर्दा समानुपातिक तथा समावेशी सिद्धान्तलाई प्राथमिकता दिइने र पार्टीमा समायोजन भएका पक्षलाई समेत महत्व दिइने बताए ।
महामन्त्री आचार्यका अनुसार बुधबारको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधि निर्माण तथा परिमार्जनका विषयमा छलफल हुनेछ । साथै आगामी अभियान र कार्यक्रम सञ्चालनका लागि समेत केन्द्रीय समितिले दिशानिर्देश तय गर्नेछ ।