भूमि प्रशासन कार्यालय विराटनगरका कर्मचारी, बैंक र बिचौलियाको मिलेमतोमा मोही कायम रहेको जग्गाको अभिलेख हेरफेर गरी बिक्री गरिएको र त्यही जग्गा धितो राखेर करोडौँ रुपैयाँ ऋण प्रवाह भएको घटना सार्वजनिक भएको छ ।
मोहीको नाम हटाएर नामसारी गरिएको जग्गामा २४ घण्टा नबित्दै रु. १ करोड ३० लाख ऋण स्वीकृत भएपछि भूमि प्रशासन कार्यालय (साबिक मालपोत कार्यालय), बैंक र बिचौलियाको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ ।
जहदा गाउँपालिका–५ (साविक मझारे–३) स्थित कित्ता नम्बर ८० को ४ हजार २८० वर्गमिटर अर्थात् १२ कट्ठा १५ धुर जग्गामा अजबलाल केवट (दास) मोहीका रूपमा कायम थिए । जग्गाधनी रोमीदेवी चौधरीको लालपुर्जामा समेत मोही महलमा केवटको नाम स्पष्ट रूपमा उल्लेख थियो ।
तर उक्त जग्गा विराटनगरस्थित सन सप्लायर्सका सञ्चालक सचिन साह हलुवाईको नाममा नामसारी गर्दा मोहीको विवरण हटाइएको पाइएको छ । असार ३० गते भूमि प्रशासन कार्यालय विराटनगरबाट जग्गा नामसारी भएको भोलिपल्टै असार ३१ गते सिटिजन्स बैंक विराटनगर शाखाले सोही जग्गालाई धितो राखेर रु. १ करोड ३० लाख ऋण प्रवाह गरेको देखिएको छ ।
कानुनी प्रक्रिया मिचिएको आशंका
भूमि व्यवस्थापनसम्बन्धी कानुनअनुसार मोही कायम रहेको जग्गामा मोहीको हक सुरक्षित नगरी वा कानुनी प्रक्रिया पूरा नगरी बिक्री तथा धितो राख्न पाइँदैन ।
तर यस घटनामा मोही अजबलाल केवटलाई जानकारी नै नदिई उनको नाम लगतबाट हटाएर रोमीदेवी चौधरीको नाममा रहेको जग्गा सन सप्लायर्सका सञ्चालक सचिन साह हलुवाईको नाममा राजीनामा पारित गरिएको आरोप लागेको छ ।
स्रोतका अनुसार बैंकले १ करोड ३० लाख रुपैयाँ मूल्याङ्कन गरेको उक्त जग्गाको वास्तविक बजार मूल्य भने करिब ३० देखि ३२ लाख रुपैयाँ मात्रै रहेको दाबी गरिएको छ । भूमि प्रशासन कार्यालयको अभिलेखमा भने जग्गाको किनबेच मूल्य रु. ४३ लाख ६५ हजार ६०० कायम गरिएको देखिन्छ ।
अभिलेखमा हतारहतार सच्याइएको आरोप
मोहीको नाम हटाइएको विषयमा प्रश्न उठेपछि भूमि प्रशासन कार्यालय विराटनगरले आफ्नो अभिलेख सच्याएको पाइएको छ । कार्यालयको स्रेस्तामा रहेको मोही विवरण महलमा पछि डटपेन प्रयोग गरी ‘अजबलाल केवट’ थपिएको देखिएको छ।
तर बैंकमा धितो राख्दा पेश गरिएको लालपुर्जामा भने मोहीको नाम उल्लेख छैन । घटनाबारे चासो बढेपछि मात्रै मुद्रित अभिलेख र डिजिटल विवरण सच्याइएको स्रोतको दाबी छ ।
भूमि प्रशासन कार्यालय विराटनगरका अधिकृत ढाकाप्रसाद बरालले भने प्राविधिक समस्याका कारण कमजोरी भएको दाबी गरेका छन्। उनले सामान्य त्रुटि देखिएपछि सच्याइएको बताएका छन् । तर जग्गा पास गर्नुअघि अनिवार्य रूपमा भरिने अनलाइन फाराम ‘अनुसूची–१४’ मा समेत मोहीको नाम उल्लेख नभएकाले विवरण नियतवश हटाइएको हुनसक्ने आशंका गरिएको छ ।
बिचौलियामार्फत ऋण प्रक्रिया मिलाइएको आरोप
सन सप्लायर्सका सञ्चालक सचिन साह हलुवाईले बैंकबाट रु. १ करोड ३० लाख ‘पर्चेजिङ लोन’ लिएको स्वीकार गरेका छन् । उनले जग्गा पास भएको भोलिपल्टै ऋण लिएको पनि बताएका छन् ।
उनका अनुसार ऋण व्यवस्थापनको काम रंगेलीका अजय मण्डलले गरेका थिए। स्रोतका अनुसार भूमि प्रशासन कार्यालयबाट मोहीको नाम हटाउनेदेखि बैंकबाट ऋण स्वीकृत गराउनेसम्मको प्रक्रिया मण्डलले मिलाएको आरोप छ ।
यता, जग्गा बिक्री गर्ने रोमीदेवी चौधरीको परिवारले भने १ करोड ३० लाख रुपैयाँ प्राप्त नगरेको स्रोतको दाबी छ । उनीहरूले जग्गा बिक्रीबापत करिब ३० लाख रुपैयाँ मात्रै पाएको बताइएको छ ।
पुराना धितोदाताले दिए प्रहरीमा उजुरी
मोहीको विवरण लुकाएर गरिएको कारोबार गैरकानुनी र दण्डनीय हुने भए पनि सोही जग्गाका पुराना धितोदाता राजेन्द्रप्रसाद केवट अहिले समस्यामा परेका छन् ।
रोमीदेवी चौधरीको नामबाट सन सप्लायर्सको नाममा जग्गा पास भई १ करोड ३० लाख ऋणसमेत निकालिएको जानकारी पाएपछि उनले प्रहरी चौकी मझारेमा उजुरी दिएका छन् । उनले आफूलाई जानकारी नै नदिई धितो राखिएको जग्गा तेस्रो पक्षलाई बिक्री गरिएको भन्दै सम्बन्धित पक्षमाथि कानुनी कारबाहीको माग गरेका छन् ।

उनको निवेदनमा भनिएको छ, “रोमीदेवी चौधरीलाई धितो नामसारी गरी दिएको जग्गा मलाई जानकारी नै नगराई तेस्रो पक्ष विराटनगर महानगरपालिका–१२ स्थित सन सप्लायर्सको नाममा पास गरिएको छ । उक्त जग्गामा मेरा ठूलोबुबा अजबलाल केवट (दास)को मोहीसमेत भएकाले सम्बन्धित पक्षलाई झिकाई आवश्यक कानुनी कारबाही गरिपाऊँ ।”
राजेन्द्रप्रसाद केवटका अनुसार उनले २०७९ असोज ९ गते रु. १३ लाख ऋणको धितोका रूपमा उक्त जग्गा रोमीदेवी चौधरीलाई पास गरिदिएका थिए ।
उनले भने, “जग्गा अर्कैलाई बेचेको थाहा थिएन। अहिले मिलाएर जग्गा फिर्ता गरिदिन्छु भनेका छन् ।”