सर्लाहीको बागमती नगरपालिका–५ टेकानीस्थित ससुरालीमा आफ्नै श्रीमतीमाथि कुटपिट गरी साडीको पासो लगाएर हत्या प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकौल गाउँपालिका–१ शेखौनाका २१ वर्षीय बसन्ता बैठा धोबी रहेका छन् ।
प्रहरीका अनुसार सोमबार राति करिब ८ बजे बैठाले आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरी साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेका थिए ।
घटनाकी प्रत्यक्षदर्शी बहिनी नाता पर्ने १० वर्षीया कुसुम कुमारीले तत्काल आफन्तलाई खबर गरेपछि उनीहरू घटनास्थल पुगेका थिए । आफन्तले समयमै साडीको पासो फुकालेर चिन्ता देवीको उद्धार गरेपछि उनको ज्यान जोगिएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी राजघाटबाट खटिएको टोलीले घाइते चिन्ता देवीलाई बागमती मोडेल अस्पताल, कर्मैयामा पुर्याएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएकी उनलाई त्यसपछि रौतहटको गरुडास्थित बेटर नेपाल अस्पताल लगिएको छ ।
प्रहरीका अनुसार चिन्ता देवीको अवस्था हाल गम्भीर रहेको छ । घटनामा संलग्न रहेको आरोपमा बसन्ता बैठा धोबीलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।