सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा. लुस्युनकुमार यादवले साउन महिनाको हाजिरी एकैपटक गरेको पाइएको छ ।
अनलाइनखबरले साउन १२ गते फेला पारेको अस्पतालको हाजिरी रजिस्टरमा डा. यादवले साउन २८ गतेसम्मको हाजिरी गरिसकेको देखिएको हो ।
सरकारी कार्यालयको आधिकारिक हाजिरी रजिस्टरमा साउन १२ गतेमै साउन २८ गतेसम्मको हाजिरी जनाइएको भेटिएपछि कर्मचारीको उपस्थितिको अभिलेख, प्रशासनिक अनुशासन र सुशासनमाथि प्रश्न उठेको छ ।
यस विषयमा प्रतिक्रिया माग्दा डा. यादवले कहिलेकाहीँ ‘मिस्टेक’ का कारण यस्तो हुन सक्ने भन्दै यसलाई सामान्य त्रुटि भएको दाबी गरे । साउन १२ गतेमै साउन २८ गतेसम्मको हाजिरी कसरी गरियो भन्ने प्रश्नमा उनले पुनः ‘कहिलेकाहीँ मिस्टेक हुन सक्छ’ भन्दै फोन

घटनाबारे सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादवसँग प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाए पनि पत्रकार भएको जानकारी पाएपछि आफू बाहिर छलफलमा रहेको भन्दै फोन काटेका थिए । त्यसपछि उनीसँग पुनः सम्पर्क हुन सकेन ।
स्रोतका अनुसार डा. लुस्युनकुमार यादव सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादवका छोरा हुन् । उनी नगर आधारभूत अस्पतालमा करार सेवामा चिकित्सक तथा कार्यालय प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।
हाजिरी रजिस्टरमा देखिएको उक्त विषयमा सम्बन्धित निकायले आवश्यक छानबिन गरी वास्तविकता स्पष्ट पार्नुपर्ने देखिन्छ ।