संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले प्रधानमन्त्रीसँग नियमित रूपमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न सभामुख डोलप्रसाद (डीपी) अर्यालको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार सिंहदरबारमा प्रतिनिधिसभाको आगामी बैठकको तयारीका विषयमा सभामुख अर्यालले दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग गरेको छलफलका क्रममा विपक्षी दलका प्रमुख सचेतकहरूले सरकारसँग सांसदहरूका थुप्रै प्रश्न रहेकाले नियमित रूपमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गरेका हुन् ।
छलफलपछि नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रतिनिधिसभा बैठकको क्यालेन्डर बनाउने र संसदीय प्रक्रियालाई मर्यादित तथा प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिइन् ।
उनले सीमा विवादका विषयमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएसम्म आफ्नो दलको विरोध कायमै रहने बताइन् । प्रधानमन्त्रीसँग नियमित प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न आफूहरूले सुझाव दिएको र यस विषयमा सत्ता पक्षका प्रमुख सचेतकले प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता सभामुखमार्फत व्यक्त गरेको उनले जानकारी दिइन् ।
त्यस्तै, नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न ध्यानाकर्षण गराइएको बताए ।
कानुनमन्त्रीले विधेयक ल्याउने प्रतिबद्धता जनाए पनि आगामी साउन १४ गतेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकका लागि अहिलेसम्म कुनै नयाँ विधेयक दर्ता नभएको विषयमा समेत आफूहरूले ध्यानाकर्षण गराएको उनले बताए ।
छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले सरकारले संसदलाई पर्याप्त ‘बिजनेस’ उपलब्ध गराएकाले दसैँअघि सम्म प्रतिनिधिसभा निरन्तर र सुचारु रूपमा सञ्चालन हुने दाबी गरे ।
संसदको मर्यादा, मूल्य, मान्यता र परिणाममुखी सञ्चालनका लागि सबै दल संवेदनशील र जिम्मेवार बन्ने विषयमा छलफलको निष्कर्ष रहेको उनले बताए । पछिल्लो समय आकस्मिक समयमा मूल विषयभन्दा बाहिर गएर अभिव्यक्ति दिने तथा व्यक्तिगत टीकाटिप्पणी गर्ने प्रवृत्ति बढेकाले त्यसमा सुधार ल्याउने विषयमा समेत सहमति भएको परियारले जानकारी दिए ।
छलफलका क्रममा सभामुख अर्यालले सदनको गरिमा र मर्यादा कायम राख्दै संसदको कामकारबाहीलाई व्यवस्थित रूपमा अघि बढाउन सबै दललाई आग्रह गरेका थिए । करिब दुई साताका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक यही साउन १४ गते बस्दैछ ।