उज्यालो नेपाल पार्टीले वर्तमान सरकार समग्र अर्थतन्त्रमा देखिएको निराशालाई आशा र विश्वासमा बदल्ने प्रयास गर्नुभन्दा सस्तो प्रचारमुखी कार्यमा बढी केन्द्रित भएको आरोप लगाएको छ ।
काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै यस्तो आरोप लगाएको हो ।
पार्टीले सरकारका जनहितकारी नीति तथा सकारात्मक कदमलाई रचनात्मक सहयोग गर्ने निर्णय गरेको जनाएको छ । तर, जनविरोधी निर्णय, कमजोर कार्यसम्पादन, संस्थागत कमजोरी, भ्रष्टाचार संरक्षण तथा राज्य सञ्चालनमा देखिएका गैरजिम्मेवार प्रवृत्तिको लोकतान्त्रिक ढंगले सशक्त विरोध गर्ने पार्टीको भनाइ छ ।
केन्द्रीय समिति बैठकले पछिल्लो समय राज्य सञ्चालनमा देखिएका कमजोरीप्रति चिन्ता व्यक्त गर्दै संविधान, कानुन र स्थापित प्रक्रियाभन्दा माथि कुनै व्यक्ति, पद वा शक्ति हुन नसक्ने स्पष्ट पारेको छ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रक्रियाभन्दा व्यक्तिकेन्द्रित निर्णय शैली प्रभावशाली बन्दै गएको जनअनुभूति बढिरहेको बताए । यस्ता प्रवृत्तिले लोकतान्त्रिक संस्थाको विश्वसनीयता र राज्य प्रणालीप्रति जनविश्वास कमजोर बनाउने जोखिम रहेको उनको भनाइ छ ।
अध्यक्ष घिसिङले बाहिरबाट नियुक्त स्वकीय तथा सल्लाहकारहरूले मन्त्रालयका सचिव तथा कर्मचारीको कार्यक्षेत्रमा हस्तक्षेप गर्दा स्थायी कर्मचारीतन्त्र निरुत्साहित र निराश बनेको दाबीसमेत गरे ।
बैठकले देशको दीर्घकालीन आर्थिक तथा सामाजिक रूपान्तरणका लागि ‘हरित क्रान्ति, समृद्ध नेपाल’ भन्ने राष्ट्रिय मार्गसमेत पारित गरेको अध्यक्ष घिसिङले जानकारी दिए ।