राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनाका विषयमा सबै राजनीतिक दलले साझा धारणा बनाएको र छिट्टै संयुक्त अपिल सार्वजनिक गरिने बताएका छन् ।
बुधबार सिंहदरबारमा आफूले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सुनसरी घटनाप्रति सबै राजनीतिक दल एकै ठाउँमा उभिएको बताए । उनले राजनीतिक प्रतिस्पर्धा आ–आफ्नो ठाउँमा भए पनि राष्ट्रिय संवेदनशीलताको विषयमा सबै दल एकताबद्ध रहेको उल्लेख गरे ।
उनले भने, "राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक–फरक छन्, तर यस्तो बेला हामी एकै ठाउँमा उभिएका छौं। सबै दलको एउटा संयुक्त अपिल छिट्टै सार्वजनिक हुन्छ ।" लामिछानेले बैठकको उद्देश्य राजनीतिक दलहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउनु रहेको स्पष्ट पारे । बैठकमा सहभागी विभिन्न दलका शीर्ष नेताहरूले घटनाबारे आफ्नो धारणा राख्दै आवश्यक सुझाव र मार्गनिर्देशन प्रस्तुत गरेको उनले जानकारी दिए ।
उनका अनुसार सरकारले पनि सुनसरी घटनाका सम्बन्धमा आवश्यक काम गरिरहेको छ । सर्वदलीय बैठकबाट प्राप्त सुझाव तथा राजनीतिक दलहरूको साझा धारणा सरकारसमक्ष औपचारिक रूपमा प्रस्तुत गरिने उनले बताए ।
प्रधानमन्त्री र गृहमन्त्री बैठकमा अनुपस्थित रहेको विषयमा सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ दिँदै लामिछानेले यो बैठक राजनीतिक दलका शीर्ष नेताहरूबीचको भएकाले सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधित्व गरेको स्पष्ट पारे ।
लामिछानेले सुनसरी घटनाजस्तो संवेदनशील विषयमा राजनीतिक दलहरूबीच एकता र जिम्मेवार भूमिका आवश्यक रहेको उल्लेख गर्दै संयुक्त अपिलमार्फत शान्ति, संयम तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरिने बताए ।