नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाको विषयमा सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याउन पहल गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन् ।
सुनसरी घटनापछि उत्पन्न परिस्थितिका बीच साझा धारणा बनाउन रास्वपाका सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले उक्त पहलको प्रशंसा गरेका हुन् ।
थापाले प्रमुख राजनीतिक दलको हैसियतबाट सबै दललाई एकै स्थानमा बोलाएर साझा धारणा निर्माण गर्ने प्रयास सकारात्मक रहेको बताए । उनले भने, "यो समयमा प्रमुख राजनीतिक दलको हैसियतबाट सबै दललाई एक ठाउँमा बोलाउने जुन पहलकदमी लिनुभयो, त्यसका लागि हामी आभार प्रकट गर्दछौं । सभापति रवि लामिछानेलाई यस पहलका लागि धन्यवाद छ ।"
थापाले वर्तमान परिस्थितिमा नेपाली कांग्रेसले निर्वाह गरिरहेको भूमिकाबारे पनि बैठकमा जानकारी गराएको उल्लेख गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम राख्न सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
उनले सुनसरी घटनाजस्तो संवेदनशील विषयमा राजनीतिक दलहरूबीच सहकार्य र संयम आवश्यक रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र आपसी विश्वास कायम राख्न सबै पक्षले सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।