राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सुनसरीको कप्तानगञ्ज घटनाको गहिरो अनुसन्धानका लागि तत्काल उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेका छन् ।
बुधबार सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले घटनाको संवेदनशीलता र धार्मिक पक्षलाई गम्भीरतापूर्वक बुझ्न आवश्यक रहेको बताए ।
उनले घटनाले थप तनाव सिर्जना गर्नुअघि नै यसको वास्तविक कारण पत्ता लगाएर दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए ।
लिङ्देनले भने, "कप्तानगञ्ज घटना भुसको आगोसरी फैलिनु अगावै यसको जरासम्म पुगेर दीर्घकालीन समाधान निकालौं । तुरुन्तै आयोग बनाऔं, संवाद गरौं। यो हतारको र अति संवेदनशील विषय हो ।" उनले घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न तथा घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे ।
अध्यक्ष लिङ्देनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी एकता र शान्ति कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरे ।
उनले भने, "प्रत्येक नेपालीले आफ्नो धर्म, संस्कृति, संस्कार र परम्पराको अभ्यास निर्वाध रूपमा गर्न पाउनुपर्छ। संविधान र कानुनले सुनिश्चित गरेका नागरिक अधिकारको निर्भयपूर्वक उपभोग गर्न पाउने वातावरण राज्यले सुनिश्चित गर्नुपर्छ। हाम्रो सदियौंदेखिको सामाजिक सद्भाव, आपसी एकता, शान्ति र भाइचारा कायम गरौं।"