राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सुनसरी घटनाका सन्दर्भमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल जारी गर्ने निर्णय गरेको छ ।
बैठकमा सहभागी सबै राजनीतिक दलले घटनाप्रति साझा धारणा बनाउँदै संवेदनशील विषयमा राजनीतिक एकता आवश्यक रहेको निष्कर्ष निकालेका हुन् । बैठकले समाजमा आपसी सद्भाव, संयम र जिम्मेवारीपूर्ण व्यवहार कायम राख्न सबै पक्षलाई आग्रह गर्ने संयुक्त अपिल छिट्टै सार्वजनिक गर्ने निर्णय गरेको जनाएको छ ।
बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, श्रमिक जनमत पार्टीका प्रमुख सचेतक आरेन राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन तथा प्रमुख सचेतक खुश्बु ओली सहभागी थिए ।
त्यसैगरी, रास्वपाका तर्फबाट उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता गणेश पराजुली र पूर्वउपसभामुख एवं सांसद इन्दिरा राना मगरको सहभागिता रहेको थियो ।
बैठकमा सहभागी नेताहरूले सुनसरी घटनाको निष्पक्ष छानबिन, शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलको साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।