पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम तथा सुनसरी घटनाको विषयमा साझा धारणा बनाउन सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वदलीय बैठक आह्वान गरेको छ ।
बुधबार सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाहलमा सुरु भएको बैठकको अध्यक्षता रास्वपाका सभापति रवि लामिछानेले गरेका छन् । सुनसरी घटनापछि तराई–मधेशका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भइरहेका बेला आयोजना गरिएको बैठकलाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ ।
यद्यपि, सुनसरी घटनापछि सरकारको भूमिकामाथि प्रश्न उठिरहेका बेला आयोजित बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छैनन् । सरकारका तर्फबाट भने उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहभागिता जनाएका छन् ।
बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, श्रमिक संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन तथा सांसद खुश्बु ओलीलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् ।
बैठकमा सुनसरी घटनाको निष्पक्ष छानबिन, तराई–मधेशको शान्ति–सुरक्षाको अवस्था, सामाजिक तथा धार्मिक सद्भाव कायम गर्ने उपाय र पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको छ ।