सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै मधेश प्रदेशका आठै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय प्रशासनले सामाजिक सद्भाव कायम राख्न तथा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाएको जनाएको छ ।
प्रशासनका अनुसार जिल्लाका सदरमुकाम, प्रमुख सहर तथा संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको परिचालन बढाइएको छ । नागरिकको सुरक्षा सुनिश्चित गर्दै शान्ति–सुरक्षा कायम राख्न विशेष निगरानीसमेत थालिएको छ ।
सुनसरी घटनापछि मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा जनकपुरधाममा सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेको थियो । बैठकले सामाजिक सद्भाव कायम राख्ने, धार्मिक सहिष्णुता प्रवर्द्धन गर्ने, अवाञ्छित गतिविधि रोक्ने तथा सबै पक्षबीच समन्वय र सहकार्य बढाउनेलगायत छ वटा निर्णय गरेको छ ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले बहुभाषिक, बहुजातीय र बहुधार्मिक विशेषतायुक्त समाज नेपालको पहिचान भएकाले सबै समुदायबीच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षले सक्रिय भूमिका खेल्नुपर्ने निर्णय गरिएको जानकारी दिए ।
बैठकमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, चारवटै सुरक्षा निकायका प्रमुख, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा विभिन्न धर्मका धर्मगुरुको सहभागिता रहेको थियो ।
यसैबीच, सुनसरी घटनापछि सर्लाहीमा पनि सुरक्षा व्यवस्था थप कडा पारिएको छ। कोशी प्रदेशमा भइरहेको प्रदर्शनको प्रभाव जिल्लामा पर्न सक्ने आकलन गर्दै सुरक्षा निकाय उच्च सतर्क अवस्थामा रहेका छन् । सोमबार सदरमुकाम मलङ्गवामा धार्मिक संघसंस्थाका प्रतिनिधि, नागरिक अगुवा तथा सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा सर्वपक्षीय बैठक बसेको थियो। बैठकले सामाजिक सद्भाव, आपसी सम्मान र विविधताबीचको एकता कायम राख्न सबैसँग अपिल गरेको छ।
बैठकले सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिलाई कुनै पनि हालतमा प्रश्रय नदिन, त्यस्ता गतिविधिबारे तत्काल प्रहरी प्रशासनलाई जानकारी गराई कानुनी कारबाहीमा सहयोग गर्न सबै पक्ष प्रतिबद्ध भएको जनाएको छ ।
सुरक्षा निकायले सम्भावित घटनालाई ध्यानमा राख्दै मलङ्गवासहित जिल्लाका संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी र प्रहरी परिचालन बढाइएको जनाएको छ ।