अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले सुनसरी घटनापछि उत्पन्न परिस्थितिको समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताएका छन् ।
बुधबार सिंहदरबारमा रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा सरकारका तर्फबाट सहभागी हुँदै अर्थमन्त्री वाग्लेले सुनसरीमा भएको दुःखद् घटनाप्रति सरकार गम्भीर रहेको र शान्ति तथा सामाजिक सद्भाव कायम गर्न आवश्यक कदम चालिरहेको बताए ।
उनले सुनसरीमा सुरक्षा व्यवस्था सुदृढ बनाउने, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्ने विषयमा प्रधानमन्त्री विशेष रूपमा संवेदनशील रहेको जानकारी दिए ।
बैठकमा वाग्लेले भने, "सुनसरीमा सामाजिक सद्भाव कायम गर्न, सुरक्षा प्रबन्ध चुस्त राख्न, दुःखद् घटनाका पीडित परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारलगायतका विषयमा प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ। उहाँकै समन्वयमा सरकारले आवश्यक पहल गरिरहेको छ । राजनीतिक दलहरूले लिएको पहलकदमीलाई सरकारले सकारात्मक रूपमा लिएको छ ।"
उनले सुनसरी घटनापछि स्थिति सामान्यीकरण गर्न तथा नागरिकमा सुरक्षा प्रत्याभूति गराउन सरकार आवश्यक समन्वयका साथ सक्रिय रहेको पनि बताए ।
सर्वदलीय बैठकमा उठेका सुझाव र धारणा प्रधानमन्त्रीसमक्ष औपचारिक रूपमा प्रस्तुत गरिने उल्लेख गर्दै वाग्लेले सबै राजनीतिक दलको सहकार्य र साझा प्रयासबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए ।