राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
बुधबार बिहान सिंहदरबारमा सुनसरी घटनाको विषयमा सर्वदलीय बैठकको आयोजना गरेका लामिछानेले त्यसलगत्तै राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार भेटका क्रममा सभापति लामिछानेले देशको समसामयिक राजनीतिक अवस्था, सुनसरी घटनापछि विकसित परिस्थितिका साथै त्यस विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठकबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
त्यसैगरी, सर्वदलीय बैठकबाट जारी गरिएको संयुक्त अपिल, सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूले व्यक्त गरेको साझा प्रतिबद्धता तथा सुनसरीको अवस्था सामान्य बनाउन सरकारले र राजनीतिक दलहरूले गरिरहेका प्रयासबारे पनि लामिछानेले राष्ट्रपतिलाई अवगत गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।
सुनसरी घटनापछि राजनीतिक दलहरूबीच साझा धारणा निर्माण गर्ने उद्देश्यले बुधबार सिंहदरबारमा सर्वदलीय बैठक बसेको थियो । बैठकले शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न संयुक्त अपिल जारी गर्ने निर्णय गरेको छ ।