आफ्नै श्रीमतीको हत्या प्रयास गरेको आरोपमा सर्लाही प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकौल गाउँपालिका–१ शेखौनाका २१ वर्षीय बसन्ता बैठा धोबी रहेका छन् । प्रहरीका अनुसार उनले सोमबार राति करिब ८ बजे बागमती नगरपालिका–५ टेकानीस्थित ससुरालीमा १८ वर्षीया श्रीमती चिन्ता देवीमाथि कुटपिट गरी साडीको पासो लगाएर हत्या गर्ने प्रयास गरेका थिए ।
घटनाका क्रममा बहिनी नाता पर्ने १० वर्षीया कुसुम कुमारीले उक्त दृश्य देखेपछि तत्काल परिवारका सदस्यलाई जानकारी गराएकी थिइन् । त्यसपछि आफन्तले समयमै पासो फुकालेर चिन्ता देवीको उद्धार गरेका थिए । घटनापछि प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरी टोलीले घाइते चिन्ता देवीलाई उपचारका लागि बागमती मोडेल अस्पताल, कर्मैया पुर्याएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगंज रिफर गरिएको थियो । हाल उनको रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले आरोपित बसन्ता बैठा धोबीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो ।डीएसपी गौतमका अनुसार श्रीमतीमाथि कुटपिट गरी साडीको पासो लगाएर हत्या प्रयास गरेको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल उद्धार तथा पक्राउको प्रक्रिया अघि बढाएको हो ।
घटनाको कारण तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।