ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ट्रान्सफर्मर तथा विद्युत मिटर खरिद प्रक्रिया र विद्युतका तार भूमिगत गर्ने परियोजनासम्बन्धी प्राप्त उजुरीमाथि छानबिन अघि बढाएका छन् ।
मन्त्री श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले विगतका खरिद प्रक्रिया, सञ्चालनमा रहेका परियोजना तथा प्राप्त उजुरी र गुनासोको अध्ययन गर्न छानबिन समिति गठन गरेको हो ।
प्राधिकरण सञ्चालक समिति सदस्य शम्भु केसीको संयोजकत्वमा गठन गरिएको समितिमा प्राविधिक, कानुनी तथा सार्वजनिक खरिदसम्बन्धी तीन जना विज्ञ सदस्य रहनेछन् । यस्तै, प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशक समितिको सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।
छानबिन समितिलाई विगतका खरिद प्रक्रिया, सञ्चालनमा रहेका परियोजना तथा प्राप्त उजुरीहरूको अध्ययन गरी सुधारका सुझावसहित दुई महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार पछिल्लो दुई महिनामा ट्रान्सफर्मर र विद्युत मिटर खरिदसम्बन्धी मात्रै ६६८ वटा उजुरी परेका छन् । यस्तै, एसियाली विकास बैंक (एडीबी)को सहयोगमा सञ्चालन भइरहेको विद्युत तार भूमिगत गर्ने परियोजना र ट्रान्सफर्मर खरिदका विषयमा धेरै गुनासो आएको उनले बताए ।
शाहीले प्राप्त सबै उजुरीको अध्ययन छानबिन समितिले गर्ने जानकारी दिए । नेपाल विद्युत प्राधिकरणका अनुसार परेका अधिकांश उजुरीहरू प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङसँग सम्बन्धित रहेका छन् । घिसिङ तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा ऊर्जामन्त्रीसमेत बनेका थिए ।
छानबिन समितिको प्रतिवेदनपछि खरिद प्रक्रिया र परियोजना सञ्चालनमा आवश्यक सुधारका कदम चालिने ऊर्जा मन्त्रालयले जनाएको छ ।