श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाह मुलुकको वर्तमान परिस्थितिप्रति गम्भीर नदेखिएको आरोप लगाउँदै देश सञ्चालन गर्न नसक्ने भए जिम्मेवारीबाट पछि हट्न आग्रह गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले सरकारले अहिले निष्क्रिय भएर बस्ने नभई बाहिर निस्किएर वास्तविक अवस्था बुझ्न, सूचना संकलन गर्न, जनतासँग संवाद गर्न र शान्ति–सुरक्षा कायम गर्न सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्दै देश र जनतालाई अभिभावकविहीन बनाउने शैली स्वीकार्य नहुने बताए । “यदि प्रधानमन्त्रीले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठडाए हुन्छ । त्यो पाइन्छ, गर्न सकिन्छ,” सांसद राईले भने, “रास्वपा आज दुई तिहाइको नजिक छ । २ सय ८२ सांसद हुनुहुन्छ, कोही न कोहीले त देश लिड गरेर जाला ।”
सांसद राईले सरकार जिम्मेवारीबाट भाग्न नहुने भन्दै या त प्रभावकारी रूपमा काम गर्नुपर्ने, नभए देश चलाउन नसक्ने स्वीकार गर्दै मार्ग प्रशस्त गर्नुपर्ने बताए । “यो ढंगले अभिभावकविहीन बनेर देश चलाउन पाइन्न । देश र जनतालाई यसरी टुहुरो बनाउन पाइन्न,” उनले भने, “यसकारण सरकार कि त निस्किनुपर्यो, कि त सक्दिनँ भनेर हात ठडाउन पर्यो ।”
यसैबीच, सांसद राईले सुनसरी घटनापछि सर्वदलीय बैठक आयोजना गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको प्रशंसा गरे । उनले सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकजुट हुनुपर्ने र त्यसको नेतृत्व सरकारले लिनुपर्ने बताए ।