प्रहरीले महोत्तरीको बर्दिबासबाट ठूलो परिमाणमा गाँजासहित एक मिनीट्रक चालकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबास, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र ट्राफिक प्रहरीसहितको संयुक्त टोलीले विशेष सूचनाका आधारमा बर्दिबास नगरपालिका–३, गौरीडाँडास्थित अस्थायी ट्राफिक प्रहरी पोस्ट अगाडि चेकजाँच गरेको थियो ।
बुधबार अपराह्न करिब साढे ४ बजे गरिएको चेकजाँचका क्रममा सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा ४ ख ५६९२ नम्बरको मिनीट्रकबाट लुकाइछिपाइ राखिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मिनीट्रकको छतमा नक्कली तह (फल्स बटम) बनाएर प्लास्टिकमा प्याक गरिएको अवस्थामा ६० प्याकेट गाँजा फेला परेको हो । बरामद गाँजालाई मान्यता प्राप्त तराजुमा तौल गर्दा ४५४ किलोग्राम रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक (डीएसपी) गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
गाँजा ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–२, त्रिवेणीका २७ वर्षीय मिनीट्रक चालक विश्व तामाङलाई नियन्त्रणमा लिएको छ ।
बरामद गाँजा कहाँबाट ल्याइएको हो र कहाँ लैजान खोजिएको थियो भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।