नेकपा (एमाले) ले सुनसरीमा भएको घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री बालेन शाह र गृहमन्त्रीले लिनुपर्ने भन्दै राजीनामाको विषय उठाएको छ ।
१४ दिनपछि बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले विगतका घटनामा राज्यका प्रमुख जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाइएको उदाहरण दिँदै सुनसरी घटनामा पनि त्यही मापदण्ड लागू हुनुपर्ने बताइन् । उनले काठमाडौंमा गोली चलेको घटनापछि तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जिम्मेवार ठहर गरिएको स्मरण गर्दै सुनसरीमा मानिसको मृत्यु भएको घटनामा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने तर्क गरिन् ।
“काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री थुनामा बस्नुपर्छ भन्ने अवस्था सिर्जना गरियो भने सुनसरीमा मानिस मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन ? यो घटनाको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?” उनले प्रश्न गरिन् ।
सांसद अर्यालले सरकार मुलुकमा शान्ति–सुरक्षा कायम गर्न असफल भएको आरोप पनि लगाइन् । उनले दंगा नियन्त्रण र जनताको सुरक्षा सुनिश्चित गर्नुको सट्टा सरकारले नै त्रासको वातावरण सिर्जना गरेको टिप्पणी गरिन् ।
“देशमा शान्ति–सुरक्षा कायम गर्न राज्य असफल भएको छ । दंगा नियन्त्रण गर्नुको सट्टा सरकारले आफैं त्रास सिर्जना गरेको छ,” उनले भनिन् । प्रतिनिधिसभाको बैठक जारी छ ।
बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले सुनसरी घटनालगायत पछिल्ला समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन् ।