सप्तरीको राजविराज नगरपालिका–१२ दमावती गाउँमा बिहीबार बिहान भएको आगलागीमा एक घर र एक गोठ पूर्ण रूपमा जलेर नष्ट हुँदा १५ लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ ।
स्थानीय कैलु मण्डलको घरमा राति करिब २ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रारम्भिक विवरणअनुसार आगलागीबाट १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
प्रहरीका अनुसार आगलागीमा एउटा घर, एउटा गोठ, चार वटा गाई, नगद, गरगहना, खाद्यान्न, लत्ताकपडा, फर्निचर तथा भाँडाकुँडा जलेर नष्ट भएका छन् । आगलागीमा परी दुई वटा गोरु घाइते भएको पीडित कैलु मण्डलले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानबाट लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर आगलागी भएको खुलेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ ।
आगलागी अस्थायी प्रहरी बिट तेतरी गाछीका प्रहरी र स्थानीयवासीको सक्रियतामा करिब दुई घण्टापछि नियन्त्रणमा आएको स्थानीय रामेश्वर यादवले बताउनुभयो ।