पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक अवस्था सहज नरहेको बताएका छन् । उनले पछिल्लो निर्वाचनबाट जनताले व्यक्त गरेको अपेक्षाअनुसार सरकार अघि बढ्न नसकेको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचनपछि गठन भएका सरकारका गतिविधिले जनविश्वास र जनअपेक्षालाई सम्बोधन गर्न नसकेको बताए ।
‘अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन । हामीले आ–आफ्ना धारणा राखेका छौं, त्यो राम्रो कुरा हो । तर गत निर्वाचनमा जनताले दिएको अभिमतअनुसार सरकार अघि बढ्न सकेको देखिँदैन,’ उनले भने ।
प्रचण्डले सरकारका कामकारबाहीप्रति जनस्तरमा असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै वर्तमान परिस्थिति थप जटिल बन्दै जाने चिन्ता व्यक्त गरे । ‘बरु दिनप्रतिदिन अवस्था अझ असहज हुने हो कि भन्ने चिन्ता व्यापक रूपमा देखिएको छ,’ उनले भने ।
उनले जनताले परिवर्तन, सुशासन र प्रभावकारी सेवा प्रवाहको अपेक्षा गरे पनि सरकार त्यसअनुसार परिणाम दिन असफल भएको संकेत गर्दै राजनीतिक नेतृत्वले जनभावनाअनुसार काम गर्नुपर्ने आवश्यकता औँल्याए ।