सिँचाइका लागि जडान गरिएको विद्युतीय ट्रान्सफर्मर चोरी भएपछि महोत्तरीको गौशाला नगरपालिका–१ का किसानहरू धान रोपाइँको महत्वपूर्ण समयमा सिँचाइ सुविधाबाट वञ्चित भएका छन् ।
स्थानीय किसान धनबहादुर समाल मगरका अनुसार कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र, नकटाझिज (धनुषा) ले विसं २०७९ मा डिप बोरिङ सञ्चालनका लागि उक्त ट्रान्सफर्मर जडान गरेको थियो । सो ट्रान्सफर्मरमार्फत डिप बोरिङबाट करिब १५ देखि १६ बिघा जमिनमा सिँचाइ हुँदै आएको थियो । उनका अनुसार २०८२ साल चैत ३० गते ट्रान्सफर्मर चोरी भएको घटनाबारे स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराइसकिएको भए पनि हालसम्म चोरी भएको ट्रान्सफर्मर फेला परेको छैन। साथै नयाँ ट्रान्सफर्मरसमेत जडान हुन नसक्दा किसानहरू सिँचाइको अभाव झेल्न बाध्य भएका छन् ।
“धान रोपाइँको समयमा ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न निकै समस्या भएको छ,” किसान मगरले भने, “नेपाल विद्युत् प्राधिकरणसँग पटक–पटक नयाँ ट्रान्सफर्मर उपलब्ध गराइदिन आग्रह गरेका छौं, तर अहिलेसम्म कुनै व्यवस्था हुन सकेको छैन ।” ट्रान्सफर्मर अभावका कारण किसानहरू वैकल्पिक सिँचाइका उपाय अपनाउन बाध्य भएका छन्, जसले खेतीपातीको लागतसमेत बढाएको उनीहरूको गुनासो छ ।
नेपाल विद्युत् प्राधिकरण, मधेस प्रदेशका प्रमुख शम्भु कुसियैतका अनुसार पछिल्लो समय मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन् । उनले पछिल्ला पाँच वर्षमा मधेस प्रदेशका विभिन्न जिल्लाबाट १०५ वटा ट्रान्सफर्मर चोरी भएको जानकारी दिँदै तीमध्ये महोत्तरी जिल्लाबाट मात्रै २५ भन्दा बढी ट्रान्सफर्मर चोरी भएको तथ्यांक रहेको बताए ।
प्रमुख कुसियैतका अनुसार चोरी भएका ट्रान्सफर्मरहरूको विवरण सङ्कलन गरी आवश्यक खोजतलास तथा अनुसन्धानका लागि मधेस प्रदेश प्रहरी कार्यालयलाई जानकारी गराइसकिएको छ ।ट्रान्सफर्मरभित्र रहेको तामाको क्वाइल बजारमा महँगो मूल्यमा बिक्री हुने भएकाले यसलाई लक्षित गर्दै संगठित गिरोह सक्रिय रहेको उनको भनाइ छ ।
ट्रान्सफर्मर चोरीका घटनाले कृषिमा प्रत्यक्ष असर पारिरहेको भन्दै स्थानीय किसानहरूले दोषीलाई तत्काल पक्राउ गरी नयाँ ट्रान्सफर्मर जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।