राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्त (बुद्धिप्रसाद) ले वर्तमान सरकारमा आफूले अपेक्षित परिवर्तन महसुस गर्न नसकेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले वीरगंजस्थित नारायणी अस्पतालमा भएको घटनापछि उत्पन्न परिस्थितिबारे सदनको ध्यानाकर्षण गराएका हुन् । उनले आफूले नै सरकारमा परिवर्तन महसुस गर्न नसकेको अवस्थामा आम नागरिकले कसरी परिवर्तनको अनुभूति गर्न सक्छन् भन्दै प्रश्नसमेत उठाए ।
सांसद पन्तले गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि सिर्जना भएको तनावपूर्ण अवस्था, चिकित्सकमाथि भएको हातपात तथा त्यसपछिको देशव्यापी चिकित्सक आन्दोलनको विषय सदनमा उठाएका थिए । उनले घटनामा कहाँ, कसबाट र कसरी कमजोरी तथा लापरबाही भयो भन्ने विषयमा निष्पक्ष, गहिरो र सूक्ष्म छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरे । साथै, मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
सांसद पन्तले घटनाका क्रममा पक्राउ परेका व्यक्तिहरू निर्दोष प्रमाणित भए तत्काल रिहा गर्नुपर्ने धारणा पनि व्यक्त गरे । उनका अनुसार, घटनापछि वीरगंजका चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ता निष्कर्षविहीन बनेको थियो । त्यसपछि चिकित्सकहरूले जिल्ला प्रशासनसँग वार्तामा नबस्ने अडान लिएपछि आफू सोमबारदेखि नै स्वास्थ्यमन्त्रीसँग निरन्तर सम्पर्कमा रहेको उनले बताए ।
उनले मंगलबार स्वास्थ्यमन्त्रीसँग भेटवार्ता भएको र त्यसपछि मन्त्री वीरगंज जाने तयारीमा रहे पनि पूर्वनिर्धारित विराटनगर भ्रमणका कारण त्यो सम्भव नभएको जानकारी दिए। त्यसपछि स्वास्थ्य सचिव र गृह सचिवसँग निरन्तर टेलिफोन तथा सन्देशमार्फत समन्वय गरेको उनले बताए । सांसद पन्तले समन्वयका क्रममा विभिन्न निकायले जिम्मेवारी एकअर्कातर्फ पन्छाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे ।
“कहिले नाम आएको छैन भन्ने, कहिले गृह मन्त्रालयले स्वास्थ्य मन्त्रालयतर्फ देखाउने, कहिले स्वास्थ्य मन्त्रालयले गृहतर्फ देखाउने अवस्था देखियो । परिवर्तनको नारासहित बनेको यो सरकारमा मैले नै परिवर्तन महसुस गर्न पाइनँ। जनताले कसरी परिवर्तन महसुस गर्न पाउलान्?” भन्दै उनले प्रतिनिधिसभामा प्रश्न उठाए ।