सुनसरीको कप्तानगञ्जमा भएको घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार कप्तानगञ्जका २० वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।
गत आइतबार राति भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर मेहता घाइते भएका थिए । उनको पेटमा गोली लागेको प्रहरीले जनाएको छ । घटनामा घाइते भएका अन्य ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि उक्त घटनामा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि सुनसरीको देवानगञ्ज क्षेत्रमा प्रदर्शन जारी रहेको छ। प्रदर्शन नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ ।
यसै घटनाको विरोधमा जनकपुरधाम, सिरहालगायतका स्थानमा पनि प्रदर्शन भइरहेको छ । सिरहा प्रशासनले गोलबजार क्षेत्रमा बिहीबार दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको जनाएको छ ।