सिरहा र धनुषा जिल्लामा पछिल्लो समय उत्पन्न तनावपूर्ण सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लागू गरेका हुन् । सिरहाको गोलबजार क्षेत्रमा साउन १४ गते दिउँसो २ बजेदेखि कर्फ्यू लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आन्दोलन तथा सम्भावित हुलदङ्गाका कारण शान्ति–सुरक्षामा असर पर्न सक्ने जोखिम देखिएकाले उक्त निर्णय गरिएको हो । सिरहामा कर्फ्यू गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि चोहर्वा चौक, सैनिक चौक तथा रा.प्र.प्र. बहुमुखी क्याम्पस आसपासका क्षेत्रमा लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कर्फ्यू आदेश उल्लङ्घन गर्ने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएका छन् ।
यस्तै, धनुषा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार साउन १४ गते दिउँसो ३ः३० बजेदेखि जनकपुरधाम तथा आसपासका संवेदनशील क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू लागू गरिएको छ ।
प्रशासनका अनुसार कर्फ्यू अवधिभर तोकिएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । धनुषामा लक्ष्मीनिया हाटबजार, सिनुरजोडा, लक्ष्मीपुर बगैवा, बेलौनी रोड, नगराइन, इस्कोन जनकपुर, दुधमती पुल, बेला र कादरी मस्जिद आसपासका क्षेत्र कर्फ्यूको दायरामा परेका छन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले आदेशको अवज्ञा गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने जानकारी दिएका छन् । प्रशासनले जिल्लामा शान्ति–सुव्यवस्था कायम राख्न तथा सम्भावित अप्रिय घटना रोक्न कर्फ्यू जारी गरिएको जनाएको छ ।
साथै सर्वसाधारणलाई प्रशासनको निर्देशनको पूर्ण पालना गर्न र अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ ।