मधेस प्रदेश सरकारले प्रदेशको वर्तमान शान्ति–सुरक्षा अवस्थाको समीक्षा गर्दै नागरिकको जिउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधाममा बिहीबार मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा भएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासम्बन्धी घटनाबारे गम्भीर समीक्षा गरेको हो । बैठकले सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सम्भावित सुरक्षा चुनौतीको समयमै पहिचान, रोकथाम तथा प्रभावकारी व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएको छ ।
मन्त्रिपरिषद्ले प्रदेशमा शान्ति, सामाजिक सद्भाव तथा धार्मिक एवं सांस्कृतिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, विभिन्न संघ–संस्था, धार्मिक गुरु, बुद्धिजीवी, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकलाई संयमित र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेको छ । त्यसैगरी, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत अपुष्ट, भ्रामक वा समाजमा द्वेष, हिंसा तथा अशान्ति फैलाउन सक्ने सामग्री प्रचार–प्रसार नगर्न प्रदेश सरकारले अनुरोध गरेको छ । साथै, आधिकारिक निकायबाट जारी गरिएका सूचना तथा जानकारीमा मात्र विश्वास गर्न पनि आग्रह गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले पछिल्ला घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रदेश सरकारले शान्ति–सुरक्षा, सुशासन, सामाजिक सद्भाव तथा नागरिक अधिकारको संरक्षणप्रति आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः स्पष्ट पारेको छ ।