काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी र सिरहामा विकसित पछिल्लो सुरक्षा तथा सामाजिक परिस्थितिबारे मधेसवादी दलका नेताहरूसँग छलफल गरेका छन् ।
बिहीबार साँझ भएको छलफलमा सुनसरीमा केही दिनअघि भएको घटनापछि सिर्जित अवस्था, सिरहामा बढ्दो तनाव तथा त्यसको शान्तिपूर्ण समाधानका उपायबारे विचार–विमर्श गरिएको रास्वपाले जनाएको छ ।
छलफलमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत मधेसवादी दलका नेताहरू सहभागी थिए । बैठकमा पछिल्लो घटनाक्रमलाई संवाद र सहमतिमार्फत समाधान गर्नुपर्ने विषयमा छलफल भएको बताइएको छ ।
मधेसवादी नेताहरूसँगको भेटअघि सभापति लामिछानेले कोशी र मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने रास्वपाका सांसदहरूसँग पनि छलफल गरेका थिए । बिहीबार अपराह्न ४ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा भएको बैठकमा सांसदहरूले प्रभावित क्षेत्रको पछिल्लो अवस्था, सुरक्षा चुनौती र स्थानीय परिस्थितिबारे जानकारी गराएका थिए ।
सांसदहरूबाट विस्तृत जानकारी लिएपछि सभापति लामिछानेले मधेसबाट निर्वाचित रास्वपाका सांसदहरूलाई तत्काल प्रभावित क्षेत्रमा पुग्न, स्थानीय समुदायसँग संवाद गर्न र शान्तिपूर्ण रूपमा समस्याको निकास खोज्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।