धनुषाको सबैला नगरपालिका–१२ स्थित एक मन्दिर परिसरमा मृत फेला परेका अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी मन्दिरका पुजारी नभएको प्रहरीले स्पष्ट पारेको छ ।
सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा मृतकलाई मन्दिरका पुजारीका रूपमा उल्लेख गर्दै समाचार प्रसारण भएपछि प्रहरीले त्यसको खण्डन गरेको हो ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले मृतक मन्दिरका पुजारी नभएको पुष्टि भएको जानकारी दिनुभयो । यसैबीच, जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार विज्ञप्ति जारी गर्दै मृतक बन्ठु राउत कडेरी मन्दिरका पुजारी नभई घुमन्ते जीवन बिताउने व्यक्ति रहेको स्पष्ट पारेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसूदन न्यौपानेका अनुसार मन्दिर परिसरमा फेला परेको शव बन्ठु राउत कडेरीकै भए पनि उहाँ मन्दिरका पुजारी होइनन् । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको विशेष अनुसन्धान टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।
प्रहरीले उक्त घटनालाई धर्मसँग नजोड्न सबैमा आग्रह गर्दै मृतक बाहिर काम गर्ने र रातिको समयमा मन्दिरमा आएर सुत्ने गरेको जनाएको छ ।
घटनालाई विशुद्ध आपराधिक प्रकृतिको रूपमा अनुसन्धान भइरहेको उल्लेख गर्दै संलग्न जो–कोहीलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता पनि प्रहरीले जनाएको छ ।