जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले सदरमुकाम राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार आन्दोलन तथा सम्भावित हुलदङ्गाका कारण शान्ति–सुरक्षा भङ्ग हुन सक्ने अवस्था देखिएकाले जिल्ला सुरक्षा समितिको साउन १५ गतेको निर्णयबमोजिम कर्फ्यु लागू गरिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शुक्रबार बिहान ८:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि राजविराज नगरपालिकाका तोकिएका क्षेत्रमा कर्फ्यु लागू रहने प्रशासनले जनाएको छ ।
कर्फ्यु लागू हुने चारकिल्ला:
- पूर्व: खाडो खोला
- पश्चिम: हुलाकी राजमार्गअन्तर्गत जमुनी–थलही क्षेत्र
- उत्तर: रुपनी रोडस्थित बसविट्टी चोक
- दक्षिण: विष्णुपुर गाउँपालिकातर्फ पर्ने कोशी पश्चिम मूल नहरसम्म
कर्फ्यु अवधिभर तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन तथा शान्ति–सुरक्षामा असर पर्ने गतिविधि गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेशको उल्लङ्घन गर्ने वा आदेशविपरीत कुनै गतिविधि गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।
प्रशासनले सर्वसाधारणलाई शान्ति–सुव्यवस्था कायम राख्न सहयोग गर्न, प्रशासनको निर्देशन पालना गर्न तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ ।