धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरमा अज्ञात समूहको धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हत्या हुनेमा हंसपुर नगरपालिका–३ मलहनिया निवासी ४५ वर्षीय बन्ठु राउत गडेरी रहेका छन् । उनी पछिल्लो समय रघुनाथपुरस्थित हनुमान मन्दिरमा बस्दै आएका थिए । प्रहरीका अनुसार भारतको पञ्जाबमा रोजगारी गर्दै आएका गडेरी केही दिनअघि मात्रै नेपाल फर्किएका थिए। घर फर्किएपछि उनी हनुमान मन्दिरमा बस्दै आएको अवस्थामा बिहीबार राति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाउनुका साथै आवश्यक प्रमाण सङ्कलन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेका अनुसार हत्यामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको छ। साथै घटनाको कारण र संलग्न व्यक्तिको पहिचानका लागि सूक्ष्म अनुसन्धान भइरहेको उनले जानकारी दिए ।