काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरीको कप्तानगन्जलगायत तराई–मधेशका विभिन्न जिल्लामा भएका घटनाको सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
शुक्रबार पार्टीका संयोजक पुष्पकमल दाहाल को अध्यक्षतामा बसेको केन्द्रीय कार्य समन्वय समितिको बैठकले उक्त माग गर्दै घटनाका कारण, झडपको अवस्था तथा स्थानीय प्रशासन र सुरक्षा निकायको भूमिकाबारे निष्पक्ष छानबिन हुनुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा कप्तानगन्ज घटनापछि तराई–मधेशका विभिन्न क्षेत्रमा भएका झडपमा तीन जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
नेकपाले नेपाली समाज धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुता, आपसी सद्भाव र राष्ट्रिय एकताको बलियो आधारमा उभिएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा पनि सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ ।
विज्ञप्तिमा धार्मिक तथा सांस्कृतिक विविधता नेपालको शक्ति भएको उल्लेख गर्दै सबै जाति, भाषा, धर्म, वर्ग र भूगोलबीचको सहअस्तित्व, पारस्परिक सम्मान र विश्वासबाट मात्रै राष्ट्रिय एकता थप सुदृढ हुने धारणा व्यक्त गरिएको छ। पार्टीले सामाजिक, धार्मिक र सांस्कृतिक विविधतालाई विभाजनको आधार नभई राष्ट्र निर्माणको आधार बनाउनुपर्नेमा जोड दिएको छ ।
यसैबीच, नेकपाले तराई–मधेशमा बढ्दो तनावका बीच सरकारले आवश्यक राजनीतिक संवेदनशीलता नदेखाएको आरोप लगाएको छ । प्रधानमन्त्री र सरकारले परिस्थितिलाई राजनीतिक रूपमा सम्बोधन गर्नुको सट्टा प्रशासनिक, प्राविधिक तथा शक्ति प्रयोगमा बढी केन्द्रित भएको भन्दै पार्टीले असन्तुष्टि जनाएको छ ।
पार्टीले वर्तमान संवेदनशील अवस्थाको दुरुपयोग गर्दै सामाजिक द्वन्द्व भड्काउने, विभिन्न समुदायबीच घृणा, अविश्वास र वैमनस्य फैलाउने तथा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई कमजोर पार्ने कुनै पनि गतिविधिप्रति सचेत रहन नागरिकलाई आह्वान गरेको छ ।
नेकपाले आफ्ना नेता तथा कार्यकर्तालाई सामाजिक सद्भाव कायम राख्न संवाद, सर्वदलीय बैठक, सद्भाव र्याली तथा समुदायस्तरका शान्ति पहलमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको छ। साथै, सरकारले राष्ट्रिय हित, सामाजिक सद्भाव र जनताको भावना अनुरूप परिस्थितिको समाधानका लागि प्रभावकारी राजनीतिक पहल गर्नुपर्नेमा जोड दिएको छ ।
बैठकले शान्ति, सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको रक्षा गर्दै संविधान तथा लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकलाई संयमित, जिम्मेवार र संवादमुखी भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।