नेपालले विद्युत् पूर्वाधारका लागि आवश्यक पोल स्वदेशमै उत्पादन गर्न थालेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाराको अमलेखगञ्जमा सञ्चालनमा आएको नयाँ पीएससी (प्रि–स्ट्रेस्ड कंक्रिट) पोल प्लान्टले गुणस्तरीय विद्युत् पोल उत्पादन सुरु गरेको हो ।
नयाँ प्लान्टबाट हाल दैनिक ९ मिटर लम्बाइका ४० वटा र ११ मिटरका २४ वटा पीएससी पोल उत्पादन भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबार १३ मिटर लामो पीएससी पोलको नमुना परीक्षणका लागि पहिलो कास्टिङसमेत सम्पन्न भएको छ ।
ऊर्जामन्त्री श्रेष्ठका अनुसार आगामी दिनमा अझ ठूलो क्षमताका पोल स्वदेशमै उत्पादन गर्ने आधार तयार भएको छ । यसअघि करिब ४० हजार रुपैयाँ पर्ने १३ मिटर लामो एउटा पोल अब करिब २६ हजार ७ सय रुपैयाँमै उत्पादन गर्न सकिने उनले बताए । स्वदेशमै पोल उत्पादन सुरु भएपछि विद्युत् पूर्वाधार निर्माणको लागत घट्ने र सार्वजनिक स्रोतको प्रभावकारी उपयोगमा सहयोग पुग्ने मन्त्रालयको भनाइ छ ।
ऊर्जामन्त्री श्रेष्ठले अमलेखगञ्जको पीएससी पोल प्लान्टलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भरतातर्फको महत्वपूर्ण कदम भएको बताए । उनका अनुसार यो उद्योगले स्वदेशी उत्पादन प्रवर्द्धन गर्नुका साथै रोजगारी सिर्जना गर्ने र विद्युत् पूर्वाधारका सामग्रीमा आयात निर्भरता घटाउनेछ । “यो केवल एउटा पोल उत्पादन गर्ने उद्योग होइन, स्वदेशी उत्पादन, रोजगारी सिर्जना, आयातमा निर्भरता घटाउने र आत्मनिर्भर नेपालको ऊर्जा यात्रातर्फको महत्वपूर्ण कदम हो,” मन्त्री श्रेष्ठले भने ।
नेपालको ऊर्जा क्षेत्र अब विद्युत् उत्पादनमा मात्र नभई आवश्यक पूर्वाधार तथा सामग्री निर्माणमा समेत आत्मनिर्भर बन्दै अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।