सरकारले अव्यवस्थित बसोबासी, सुकुमबासी र भूमिहीन परिवारलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आगामी भदौभित्र ८ जिल्लाका करिब पाँच सय परिवारलाई लालपूर्जा वितरण गर्न लागिएको हो ।
भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले प्रतिनिधिसभाको रोष्टमबाट जानकारी दिँदै अव्यवस्थित बसोबासी, सुकुमबासी र भूमिहीनको संख्या करिब १२ लाख रहेको बताउनुभयो ।
मन्त्री रावलका अनुसार यसअघि चार जिल्लामा लालपूर्जा वितरण भइसकेको छ । अब उदयपुरमा ३ सय, तनहुँमा १५, मकवानपुरमा १०६, कञ्चनपुरमा १७, धनुषामा ५, दाङमा १४, बर्दियामा ३० र सुर्खेतमा १८ परिवारलाई लालपूर्जा वितरण गर्ने तयारी भइरहेको छ ।
उहाँले अव्यवस्थित बसोबासी, सुकुमबासी र भूमिहीनको पहिचान तथा व्यवस्थापनमा सरकार गम्भीर र संवेदनशील रहेको बताउनुभयो । लालपूर्जा वितरण प्रक्रियामा स्थानीय तहको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।
मन्त्री रावलले सरकारले जहाँ नागरिक बसोबास गर्दै आएका छन्, सम्भव भएसम्म त्यहीँको जग्गा उपलब्ध गराउने नीति लिएको बताउनुभयो । तर नकारात्मक सूचीमा परेका क्षेत्रका हकमा भने वैकल्पिक स्थानमा व्यवस्थापन गरिने उहाँले स्पष्ट पार्नुभयो ।