मधेस प्रदेशका विभिन्न जिल्लामा विद्युत् ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन् ।
पछिल्लो पाँच वर्षको अवधिमा प्रदेशका विभिन्न जिल्लाबाट ९९ वटा ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालयका प्रशासन प्रमुख कालिचरण यादवका अनुसार ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकाले चोरीका घटना बढेको हो ।
उनका अनुसार सबैभन्दा बढी महोत्तरीमा ३५ वटा ट्रान्सफर्मर चोरी भएका छन् । त्यस्तै बारामा १५, धनुषामा १४, रौतहटमा १०, सर्लाही र सिरहामा नौ–नौ, सप्तरीमा तीन तथा पर्सामा दुई वटा ट्रान्सफर्मर चोरी भएका छन् ।
चोरी भएका ट्रान्सफर्मरको क्षमता १५ केभीएदेखि २०० केभीएसम्म रहेको प्राधिकरणले जनाएको छ । ट्रान्सफर्मर चोरी हुँदा किसानहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । विशेषगरी सिँचाइको समयमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा कृषकलाई समस्या भएको छ ।
किसानहरूले चोरीमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी क्षतिग्रस्त स्थानमा नयाँ ट्रान्सफर्मर जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले चोरी भएका ट्रान्सफर्मरको खोजी कार्य भइरहेको बताए ।
उनले घटनामा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि अनुसन्धान भइरहेको जानकारी गराएका छन् ।