पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि रूपन्देही लैजान आज बिहान ५ बजेनै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको छ ।
रास्वपा र लामिछानेका समर्थकहरूले प्रदर्शन गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उनलाई बिहान सबेरै विमानस्थल ल्याइएको हो । लामिछानेलाई बिहान ७ बजे उडानमार्फत बुटवल लैजाने भनिए पनि ८:४० सम्म उडान नहुँदा विमानस्थलमै प्रतीक्षा गरिएको छ । उनका स्वकीय सचिव अविनाश आचार्यका अनुसार बिहान ६:३० मा लामिछानेलाई विमानस्थलका लागि तयार हुन भनिएको थियो, तर प्रहरी उनलाई बिहान ५ बजे नै विमानस्थल पुर्याएको थियो । पोखरा विमानस्थलको सुरक्षा अहिले थप कडा पारिएको छ ।
लामिछानेलाई सुप्रिम बचत तथा ऋण सहकारी प्रकरणमा बयानका लागि रूपन्देही जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो । गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीबाट आएको रकम कार्यालय सञ्चालनमा खर्च गरेको आरोपमा जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई पक्राउ पुर्जी जारी गरेको थियो ।
कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई कात्तिक ४ गते जिल्ला अदालत कास्कीमा पेस गरिएको थियो । सुरुआती ६ दिन हिरासतमा राख्ने अनुमति पाएपछि दोस्रोपटक ७ दिन र तेस्रोपटक १० दिनको म्याद थपिएको थियो ।
लामिछानेको गिरफ्तारीको विरोधमा रास्वपाले देशभरि प्रदर्शन गर्दै आएको छ । बुटवल लैजाने खबरसँगै लामिछाने समर्थकहरूले आज दिउँसो ११ बजेबाट बुटवलमा प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।