

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले नेता रवि लामिछानेलाई सरकारले पुनः म्याद थपेर हिरासतमा राखे अनशन बस्ने चेतावनी दिएको छ । बुधबार बृहत र्यालीसहित नगर परिक्रमा गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
रास्वपा पर्साका जिल्ला सभापति हरि पन्तको नेतृत्वमा भएको र्यालीमा लामिछाने निर्दोष भएको सन्देश दिन प्रतीकात्मक हत्कडी लगाएर बजार परिक्रमा गरिएको थियो । साथै, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको मुखुण्डो बनाएर विरोध प्रदर्शन गरिएको थियो। यस क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही समय तनाब र घम्साघम्सीको अवस्था पनि उत्पन्न भएको थियो ।
विरोध कार्यक्रम जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएपछि घण्टा घरमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा रास्वपा पर्साका केन्द्रीय सदस्य डा. नन्दन यादव, प्रदेश सदस्य पुरुषोत्तम उपाध्याय, क्षेत्रीय सभापति जितेन्द्र मिश्र, फैयाद मिया, पालिका सभापति चन्दन गुप्तालगायतले मन्तव्य राखेका थिए ।
जिल्ला सभापति पन्तले लामिछाने अझै हिरासतमा रहिरहे देशभरि नै रास्वपाको लहर चल्ने चेतावनी दिए । उनले भने, "अब जनता रविको पक्षमा उर्लिएको छ र सबैले रवि निर्दोष भएको बुझिसकेका छन् ।"