उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ ।
डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउन र विद्युतमा लगाइएको कर खारेज गर्न माग गर्दै पार्टीले काठमाडौंको माइतीघरबाट हस्ताक्षर अभियान सुरु गरेको हो । अभियानको सुरुवात गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत् र इन्डक्सनलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले उल्टै कर लगाएको भन्दै कर खारेज गर्न माग गरे ।
इन्डक्सन र चार्जिङ स्टेसनका कारण ट्रान्सफर्मर तथा विद्युत् लाइनमा समस्या आउन सक्ने भन्दै जिम्मेवार निकायबाट भ्रम फैलाइएको आरोप लगाउँदै घिसिङले त्यसप्रति आपत्तिसमेत जनाए ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग व्यापक बनाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा सरकारले ७० देखि ८० प्रतिशतसम्म भन्सार तथा कर बढाएर पुनः पेट्रोल, डिजेल र ग्यास आयातलाई प्रोत्साहन गर्ने गलत नीति लिएको उनको भनाइ थियो ।
शिक्षा र स्वास्थ्यमा लगाइएको भ्याट हटाएकोमा उनले सरकारलाई धन्यवाद दिए। तर, राइड सेयरिङमा काम गर्ने तथा मासिक २०–३० हजार रुपैयाँ कमाउने सामान्य श्रमिकमाथि समेत करको भार थोपरेको भन्दै उनले सरकारको नीतिको विरोध गरे ।