गृहमन्त्री सुधन गुरुङले आफ्नो जिम्मेवारीमा रहेको विपद् व्यवस्थापनका विषयमा मन्त्रालय संवेदनशील रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा समय लिएर बोल्दै उहाँले सांसद गोपाल शर्माले जाजरकोट र रुकुम पश्चिमका विपद् प्रभावित नागरिकको उद्धार तथा राहतका सम्बन्धमा सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताउनुभएको हो । गृहमन्त्री गुरुङले विपद्का घटनामा एउटै परिवारबाट एक जनाले मात्र लाभ प्राप्त गर्ने कानुनी व्यवस्था रहेको जानकारी दिनुभयो। एकभन्दा बढी व्यक्तिलाई लाभ प्रदान गर्न विपद् आउनुअघि नै अंशबण्डा भएको र छुट्टिएर बसेको हुनुपर्ने कानुनी व्यवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो ।
उक्त व्यवस्था संशोधन गर्न तथा स्थानीय तहलाई विपद् व्यवस्थापनमा थप जिम्मेवार बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको र त्यसले काम अघि बढाइरहेको उहाँले जानकारी दिनुभयो। स्थानीय तहका पालिका भवन निर्माण गर्दा भवन निर्माण संहिता पालना गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले आवश्यक समन्वय र सहजीकरण भइरहेको बताउनुभयो ।
विपद् व्यवस्थापन तीनै तहका सरकारको साझा जिम्मेवारी रहेको स्पष्ट पार्दै उहाँले सोहीअनुसार संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य भइरहेको जानकारी दिनुभयो ।