महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाबाट सशस्त्र प्रहरीले करिब २ करोड ४० लाख रुपैयाँ बराबरका १२ सय थान एप्पल एयरपड्स बरामद गरेको छ ।
शनिबार बिहान भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले एयरपड्स बरामद गरेको हो । सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीका सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कार्की, सीमा सुरक्षा गुल्म रघुनाथपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक गणेशदत्त पाण्डे र बोर्डर आउट पोस्ट खैरवनीका सशस्त्र प्रहरी निरीक्षक कृष्ण गिरीको टोलीले संयुक्त रूपमा एयरपड्स बरामद गरेको हो ।
सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि एयरपड्स ल्याउँदै गरेका व्यक्ति सामान छाडेर फरार भएका थिए । फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको एयरपड्स आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।