त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुरिएको घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ । नेपाल प्रहरीले विदुर नगरपालिका–१० बेत्रावती निवासी आनन्दलाल श्रेष्ठकी ६४ वर्षीया श्रीमती चण्डीका श्रेष्ठलाई शनिबार जीवितै उद्धार गरेको हो ।
प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमाण्डमा खटिएको प्रहरी टोलीले बेत्रावतीस्थित नदीको बगर तथा बाढीबाट क्षतिग्रस्त संरचनामा निरन्तर खोज तथा उद्धार गरिरहेको थियो। सोही क्रममा आनन्दलाल श्रेष्ठको चारतले घरको छतमा पुगेपछि घरभित्रबाट आवाज आएको प्रहरी निरीक्षक दर्नालले बताए ।
उनका अनुसार प्रहरी टोलीले आवाज आएको स्थान पहिचान गरी पर्खालमा सानो प्वाल बनाएर खोजी गर्दा भित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज सुनिएको थियो। त्यसपछि पर्खाल फुटाएर चण्डीका श्रेष्ठलाई जीवितै उद्धार गर्न सफल भएको उनले बताए ।
उद्धार कार्यमा स्थानीय बासिन्दाका साथै अन्य सुरक्षा निकायले समेत आवश्यक सहयोग गरेका थिए ।
उद्धार गरिएकी श्रेष्ठलाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनी पठाइएको छ । उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीले स्थानीय तह तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी निरन्तर खोज तथा उद्धार कार्यलाई जारी राखेको जनाएको छ ।