सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–२ चाँदनी बजारमा बसबाट ओर्लिने क्रममा लडेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–११ ठेलियाका गोपाल रामकी श्रीमती ४० वर्षीया निर्मला कुमारी केसी राम रहेकी छन्। उनको विराटनगरस्थित न्युरो अस्पतालमा शनिबार बिहान ११ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान करिब ७ः५५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१–०२–००२ ख ०५४३ नम्बरको बसबाट चाँदनी बजारमा ओर्लिने क्रममा केसी लडेकी थिइन् । बस चढ्नका लागि उनी कञ्चनरुप नगरपालिका–११ स्थित ठेलिया चोक पुगेकी थिइन् ।
बसबाट ओर्लिने क्रममा लड्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। स्थानीयवासीले प्रहरीको सहयोगमा उद्धार गरी प्रारम्भिक उपचारका लागि कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर अस्पताल लगेका थिए । त्यहाँ उपचारपछि थप उपचारका लागि उनलाई विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएको थियो ।
गम्भीर घाइते केसीको उपचारका क्रममा शनिबार मृत्यु भएको इलाका प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रहरीले दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको जनाएको छ ।
मृतक केसी कञ्चनपुर–कमला चार लेन सडक निर्माणमा संलग्न चाइनिज रेल्वे इन्जिनियरिङ ग्रुपको पूर्वी क्याम्पमा मजदुरका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।