बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुँदै छन् ।
सुप्रिम सहकारीको बचत रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगिएको आरोपमा लामिछानेसहित २२ जनाविरुद्ध गत आइतबार मुद्दा दर्ता भएको थियो । सहकारीका सदस्यहरूको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको आरोप छ ।
लामिछाने मंगलबार नै रुपन्देही आइपुगेका थिए । बुधबार उनले भैरहवाको देवकोटाचोकस्थित मेरिगोल्ड होटलमा बास बसेको बताइएको छ। यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछानेविरुद्ध थप प्रमाणका आधारमा सहकारी ठगी र संगठित अपराधको पूरक मुद्दा दर्ता भएको हो ।
सरकारी वकिलको कार्यालयले लामिछानेसहित २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ बिगो माग गरेको छ । लामिछानेलाई व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँ बिगो दावी गरिएको छ ।
यस्तै, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष र पूर्वडिआईजी छविलाल बन्जाडे जोशीविरुद्ध ४ करोड २७ लाख ७८ हजार बिगो दावी गरिएको छ । सुप्रिम सहकारीका संरक्षक तथा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राईलाई ५१ करोड १ लाख बिगो माग गरिएको छ ।
यसअघि बैशाखमा सहकारीको रकम ठगी मुद्दामा २८ जनाविरुद्ध १ अर्ब ३ करोड बिगो माग गरिएको थियो। पछिल्लो पूरक मुद्दासहित अब ४२ जनाबाट डेढ अर्ब बिगो माग गरिएको छ । लामिछाने अदालतमा उपस्थित भएपछि बयान र थुनछेक बहस सुरु हुने जनाइएको छ ।