रौतहटको कटहरिया नगरपालिकामा मधेस प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत १५ करोड ७५ लाख रुपैयाँ लागतको सडक निर्माण आयोजना कार्यान्वयनमा आएको छ। सडक कालोपत्रेसँगै पुल, कलभर्ट र नाला निर्माणको काम पनि अघि बढाइएको छ ।निर्माण कम्पनीका अनुसार आयोजनाअन्तर्गत पर्ने पुल तथा कलभर्टको काम अन्तिम चरणमा पुगेको छ। सडक कालोपत्रेको प्रारम्भिक चरणसमेत सुरु भइसकेको छ ।
ठेक्का सम्झौतामार्फत मुन्ना कन्स्ट्रक्सनले भ्याटसहित १५ करोड ७५ लाख रुपैयाँमा आयोजना निर्माणको जिम्मेवारी पाएको हो। कम्पनीका अध्यक्ष प्रमोदकुमार यादवका अनुसार कटहरिया बजारस्थित विवाह भवनदेखि उत्तरतर्फ वडा नम्बर ३ को बडका बडेरवासम्म करिब ३.१ किलोमिटर सडक कालोपत्रे गरिनेछ ।
आयोजनामा सडकको विभिन्न खण्डमा ढलान तथा कालोपत्रे गर्ने, दुईवटा कलभर्ट, तीनवटा ह्युमपाइप कलभर्ट र करिब १ हजार ६ सय मिटर नाला निर्माण गर्ने योजना रहेको छ ।गत असारदेखि निर्माण सुरु भएको आयोजना २०८४ साल असारसम्म सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता गरिएको अध्यक्ष यादवले जानकारी दिए ।
जीर्ण सडक पुनर्निर्माणपछि स्थानीयलाई राहतको अपेक्षा
करिब एक दशकअघि निर्माण भएको कटहरिया–जंगलसहिया सडक जीर्ण बनेपछि नयाँ योजनामार्फत पुनः स्तरोन्नति गर्न लागिएको हो। सडकमा ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका कारण स्थानीयलाई दैनिक आवतजावतमा समस्या हुँदै आएको थियो ।
साइकल र मोटरसाइकलदेखि चारपांग्रे सवारीसाधन सञ्चालनमा समेत कठिनाइ हुने गरेको स्थानीयको भनाइ छ। सडकको खराब अवस्थाका कारण दुर्घटनाको जोखिमसमेत बढेको उनीहरू बताउँछन् ।हाल बडका बडेरवा गाउँको उत्तरी सीमासम्म भइरहेको सडक निर्माणले कटहरिया नगरपालिका तथा आसपासका बस्तीका नागरिकको आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।कटहरिया नगरपालिका–४ का वडाध्यक्ष चन्दन कुशवाहाले पहिलो चरणको सडक निर्माणसँगै बडेरवादेखि पोखरभिन्डासम्मको खण्डलाई पनि आगामी चरणमा कालोपत्रे गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
उनले उक्त सडक विस्तारका लागि मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, अर्थमन्त्री युवराज भट्टराई तथा पूर्वअर्थमन्त्री सुनिलकुमार यादव (जितेन्द्र)को ध्यानाकर्षण गराएका छन् ।स्थानीयका अनुसार बडेरवादेखि पोखरभिन्डासम्मको सडक पनि निर्माण भए कटहरिया नगरपालिकाका विभिन्न बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्न थप सहज हुनेछ ।