सिरहामा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको स्वीप अप्रेसन टोलीले सोमबार सिरहा नगरपालिका–२ स्थित छोट्की टोलमा मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार प्रदेश ३–०२–०१३ प ६४१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट १६ ग्राम १४० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–७ निवासी २४ वर्षीय कमलेश कुमार साफी र मोटरसाइकल चालक ३२ वर्षीय सन्तोष यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार पक्राउ परेका दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।