राजगुठीले पोखरीको डिल तथा आसपासको क्षेत्रमा भएको भनिएको अतिक्रमण हटाई जग्गा खाली गराउन सूचना जारी गरेपछि स्थानीयले त्यसको विरोध गरेका हुन् ।
स्थानीयका अनुसार विवादित जग्गा गुठी संस्थानको स्वामित्वमा नरहेको दाबी गर्दै उनीहरूले सूचना तत्काल पुनरवलोकन गर्न माग गरेका छन् । जग्गाको स्वामित्व र कानुनी अवस्थाबारे यकिन नगरी एकतर्फी रूपमा खाली गराउने सूचना जारी गरिएको उनीहरूको आरोप छ ।
प्रदर्शनमा सहभागी स्थानीयले जग्गाको स्वामित्व, नापी विवरण तथा कानुनी अवस्थाबारे निष्पक्ष छानबिन गरेर मात्र आवश्यक निर्णय लिनुपर्ने बताएका छन्। उनीहरूले वास्तविक स्वामित्व र अधिकार यकिन गरी कानुनी प्रक्रिया पूरा भएपछि मात्रै जग्गासम्बन्धी निर्णय गर्नुपर्ने माग गरेका छन् । गुठीको सूचनाको विरोधमा स्थानीयले मंगलबार जनकपुरधामस्थित पिडारी चोकमा चक्काजामसहित प्रदर्शन गरेका थिए। चक्काजामका कारण केही समय उक्त क्षेत्रमा सवारी आवागमनसमेत प्रभावित भएको थियो ।
प्रदर्शनमा सहभागीहरूले आफ्ना माग सम्बोधन नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। उनीहरूले सम्बन्धित निकायलाई तत्काल स्थानीयसँग छलफल गरी विवादित जग्गाको स्वामित्व तथा कानुनी अवस्थाबारे निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन्। स्थानीयले गुठीको सूचना कार्यान्वयन गर्नुअघि जग्गासम्बन्धी सम्पूर्ण प्रमाण र अभिलेखको अध्ययन गरी विवाद समाधान गर्नुपर्ने बताएका छन् ।