नेपालले मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था एक दशकदेखि कायम राखेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट सम्मान प्राप्त गरेको छ। टिमोर–लेस्टेको राजधानी डिलीमा जारी डब्ल्यूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकका क्रममा नेपाललाई उक्त उपलब्धिका लागि सम्मान गरिएको हो ।
बैठकमा नेपालका तर्फबाट स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी रहेको छ। डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, प्रभावकारी खोप सेवा र सुरक्षित प्रसूति अभ्यासमार्फत नेपालले मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको उपलब्धि निरन्तर कायम राखेको जनाएको छ ।
डब्ल्यूएचओका महानिर्देशकले नेपालका प्रतिनिधिमण्डल प्रमुख डा. मिश्रालाई सम्मानपत्र हस्तान्तरण गरेकी हुन्। सम्मानपत्रमा नेपालको उपलब्धिले दक्षिण–पूर्वी एसियामा मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राख्ने क्षेत्रीय प्रयासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिएको छ ।
यसैबीच, देशमा आएको विनाशकारी बाढीका कारण स्वास्थ्य प्रतिकार्य, समन्वय तथा जीवनरक्षाका काममा प्रत्यक्ष संलग्न हुनुपर्ने भएकाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बैठकमा सहभागी हुन सकेकी छैनन् ।मन्त्री मेहताले भिडियो सन्देशमार्फत नेपालमा बाढीका कारण सिर्जित संकट र प्रभावित समुदायको अवस्थाबारे जानकारी गराउँदै जलवायु न्याय तथा स्वास्थ्य क्षेत्रमा जलवायु वित्तको आवश्यकता औँल्याएकी छन् ।