काठमाडौँ । न्यायाधीश समाज, नेपालले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीशबारे सर्वसाधारणमा भ्रम फैलाएको आरोप लगाएको छ ।
बिहीबार जारी गरिएको एक विज्ञप्तिमा समाजले त्रिपाठीले रवि लामिछानेको मुद्दामा न्यायाधीशले दिएको आदेशलाई लिएर न्यायालयप्रति अनास्था फैलाउने गतिविधि गरेको जनाएको छ ।
न्यायाधीश समाज नेपालका महासचिव टेकनारायण कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, "वरिष्ठ अधिवक्ता त्रिपाठीले विभिन्न सञ्चार माध्यममा न्यायाधीशका सम्बन्धमा बदनियतपूर्ण अभिव्यक्ति दिँदै न्यायालयप्रति नै अनास्था फैलाउने काम गरेका छन् । युट्युब च्यानलहरुमार्फत प्रसारित अन्तर्वार्तामा आएका यी अभिव्यक्तिहरूले हाम्रो गम्भीर ध्यानाकर्षण गराएको छ ।"

समाजले त्रिपाठीको अभिव्यक्तिले न्यायपालिकाको गरिमामाथि आँच पुर्याएको भन्दै खेद प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, "कुनै आदेश कानुनविपरीत भए कानुनी उपचार खोज्ने प्रावधान हुँदाहुँदै सार्वजनिक रूपमा न्यायाधीशलाई बदनाम गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।"
त्यस्तै, समाजले वरिष्ठ अधिवक्ताको अभिव्यक्तिबाट न्यायपालिका र न्यायिक पद्धतिप्रति जनमानसमा अनास्था पैदा भएको उल्लेख गर्दै यस्ता अवाञ्छित गतिविधिको निन्दा गरेको छ ।
समाजले त्रिपाठीमाथि भएको आक्रमणको पनि निन्दा गर्दै कानुनी प्रक्रिया र विधिलाई सम्मान गर्न सबै पक्षलाई आग्रह गरेको छ ।