पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका उपभोक्ता समूहका सदस्यलाई वन्यजन्तु संरक्षणसँगै सहकारीसम्बन्धी ज्ञान प्रदान गर्ने अभियान सुरु गरिएको छ ।
स्थानीय समुदायलाई संरक्षण अभियानमा थप सक्रिय बनाउने उद्देश्यले पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समिति र जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा शिक्षा तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
अभियानको पहिलो चरण जीतपुरसिमरा उपमहानगरपालिका–६ नागौलस्थित जनजागरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहबाट सुरु गरिएको जनहित उपभोक्ता समितिले जनाएको छ । आगामी चरणमा मध्यवर्ती क्षेत्रका ६४ वटै उपभोक्ता समूहमा कार्यक्रम विस्तार गरिनेछ ।
समितिका अध्यक्ष अमृतलाल श्रेष्ठका अनुसार ती समूहमा आबद्ध करिब ४ हजार ५ सय सदस्यलाई वन्यजन्तु संरक्षण, जैविक विविधता तथा सहकारीका विभिन्न विषयमा जानकारी र प्रशिक्षण दिइनेछ ।
कार्यक्रममा वन तथा वन्यजन्तु संरक्षणको आवश्यकता, जैविक विविधताको महत्व, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपाय तथा प्राकृतिक स्रोत संरक्षणमा स्थानीय समुदायको भूमिका र जिम्मेवारीबारे प्रशिक्षण दिइनेछ ।
त्यसैगरी सहकारी शिक्षाअन्तर्गत सहकारीको उद्देश्य तथा आधारभूत सिद्धान्त, सदस्यका अधिकार र दायित्व, बचतको प्रभावकारी उपयोग, ऋण परिचालन र आर्थिक अनुशासनलगायत विषय समेटिनेछ । सहकारीलाई आयआर्जन तथा आर्थिक आत्मनिर्भरताको माध्यमका रूपमा उपयोग गर्ने उपायबारे पनि सदस्यलाई जानकारी दिइने जनाइएको छ ।
अध्यक्ष श्रेष्ठले मध्यवर्ती क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागिता आवश्यक हुने भएकाले उनीहरूलाई संरक्षणसम्बन्धी ज्ञान र जिम्मेवारीबारे सचेत गराउन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले वन्यजन्तु संरक्षण र स्थानीय समुदायको आर्थिक विकासलाई एकसाथ अघि बढाउन सके संरक्षण अभियानप्रति समुदायको अपनत्व अझ बलियो हुने धारणा व्यक्त गर्नुभयो ।
“संरक्षणमा समुदायको जिम्मेवारी र सहकारीमा सदस्यको भूमिका स्पष्ट पार्नु कार्यक्रमको मुख्य उद्देश्य हो,” श्रेष्ठले भन्नुभयो ।
समुदायलाई वन, वन्यजन्तु तथा प्राकृतिक स्रोत संरक्षणप्रति जिम्मेवार बनाउँदै सहकारीमार्फत आर्थिक रूपमा सक्षम बनाउने लक्ष्यसहित अभियानलाई मध्यवर्ती क्षेत्रका सबै लक्षित उपभोक्ता समूहसम्म पुर्याउने तयारी गरिएको समितिले जनाएको छ ।