अमेरिका र इरानबीच छ महिनाभन्दा लामो समयदेखि जारी युद्धका क्रममा तनाव पुनः चर्किएको छ। पछिल्लो घटनाक्रममा अमेरिकी सेनाले इरानका थप पाँचवटा तेल ट्याङ्कर ध्वस्त पारेको जनाएको छ। अमेरिकी सेनाका अनुसार आफ्ना युद्धपोतमाथि भएको पछिल्लो क्षेप्यास्त्र आक्रमणको जवाफस्वरूप मंगलबार इरानी तेल ट्याङ्करलाई लक्षित गरी कारबाही गरिएको हो।
अमेरिकी कारबाहीपछि इरानले पनि जोर्डनमा रहेका अमेरिकी सैन्य लक्ष्यतर्फ क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ। जोर्डनको सेनाका अनुसार उसको हवाई प्रतिरक्षा प्रणालीले आफ्नो भूमितर्फ प्रहार गरिएका १८ वटा ब्यालेस्टिक क्षेप्यास्त्र आकाशमै रोकेको थियो। थप दुईवटा क्षेप्यास्त्र भने मानव बस्ती नभएका क्षेत्रमा खसेका थिए। घटनामा कुनै मानवीय क्षति नभएको जोर्डनले जनाएको छ।
अमेरिकाको निकट सहयोगी जोर्डनमा अमेरिकी सेनाको उपस्थिति रहेकाले त्यहाँ रहेका सैन्य अखडाहरू यसअघि पनि इरानी आक्रमणको निशानामा पर्दै आएका छन्। पछिल्लो क्षेप्यास्त्र प्रहारले क्षेत्रीय तनाव थप बढाउने चिन्ता व्यक्त गरिएको छ। यसैबीच, ट्रम्प प्रशासनले मंगलबार इरानको हवाई क्षेत्रमा थप प्रतिबन्धसमेत घोषणा गरेको छ। इरानलाई बाँकी रहेका व्यापारिक साझेदारबाट अलग पार्ने प्रयासस्वरूप दुई दर्जनभन्दा बढी व्यावसायिक तथा निजी विमान सेवा र विदेशी मालवाहक सेवा प्रदायकलाई प्रतिबन्धको दायरामा ल्याइएको जनाइएको छ। अमेरिका र इरानबीचको पछिल्लो सैन्य तथा आर्थिक टकरावले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्ने संकेत देखिएको छ।