वर्षायाममा मधेशका बजारमा पहाडी जिल्लाबाट ठूलो परिमाणमा हरियो तरकारी आउने गर्छ। तर, बाढीपहिरोका कारण नुवाकोटलगायतका क्षेत्रबाट काठमाडौँको कालीमाटी हुँदै मधेशसम्म आउने सडक तथा आपूर्ति मार्ग प्रभावित भएपछि तरकारीको नियमित आपूर्ति रोकिएको व्यवसायीहरूले बताएका छन् ।
आपूर्ति घटेपछि स्थानीय बजारमा तरकारीको मूल्य उल्लेख्य रूपमा बढेको छ। बर्दीबासको बुधबारे हाटमा अहिले भान्टा प्रतिकिलो ८० रुपैयाँ, मुला ६० रुपैयाँ, गोलभेँडा १०० रुपैयाँ, काउली १०० रुपैयाँ, तोरीको साग १६० देखि २०० रुपैयाँ, परबर ९० रुपैयाँ, तितेकरेला १२० रुपैयाँ, ओल ६० देखि ९० रुपैयाँ र घिरौँला ६० रुपैयाँसम्म पुगेको छ।
बाढीअघि यीमध्ये अधिकांश तरकारी प्रतिकिलो २० देखि बढीमा ८० रुपैयाँसम्ममा बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन्। आपूर्ति घट्दै गएपछि मूल्य बढ्नुका साथै बजारमा तरकारी पाउनसमेत कठिन हुन थालेको उनीहरूको भनाइ छ। बर्दीबासस्थित थोक तरकारी व्यवसायी नबल दासका अनुसार नुवाकोट क्षेत्रबाट दैनिक ठूलो परिमाणमा टमाटर, काँक्रा, खुर्सानी, सिमला मिर्च, गाजर, मुला, आलु, अकबरे खुर्सानी, स्कुसलगायतका तरकारी मधेशका बजारमा आउने गरेका थिए।
तर, बाढीपहिरोपछि नुवाकोट क्षेत्रबाट हुने आपूर्ति ठप्पजस्तै भएको दासले बताउनुभयो। पूर्वी पहाडी क्षेत्रको हिले तथा धनकुटाबाट वैकल्पिक रूपमा तरकारी आउन थाले पनि त्यसले मधेशको माग धान्न नसकेको उहाँको भनाइ छ। “बाढीपछि नुवाकोट क्षेत्रबाट आपूर्ति ठप्प छ। विकल्पमा पूर्वको हिले, धनकुटाबाट तरकारी आउने गरे पनि मागअनुसारको आपूर्ति नहुँदा अभाव बढ्दै गएको हो,” दासले भन्नुभयो।
आपूर्ति घटेपछि व्यापारीहरू मौज्दातमा रहेको सीमित तरकारीबाट बजारको माग धान्न बाध्य भएका छन् । बर्दीबासका तरकारी व्यापारी रामचन्द्र महतोका अनुसार कालीमाटीलगायत ठूला बजारमा निर्धारण हुने मूल्यलाई आधार बनाएर कारोबार हुँदै आए पनि अहिले पर्याप्त तरकारी नआउँदा मूल्यभन्दा अभाव मुख्य समस्या बनेको छ।व्यवसायीका अनुसार बर्दीबासको बुधबारे हाटमा साताको करिब ८० लाख रुपैयाँ बराबरको पहाडी क्षेत्रमा उत्पादित तरकारीको कारोबार हुने गरेको छ। मासिक रूपमा यस्तो कारोबार करिब एक करोड ६० लाख रुपैयाँसम्म पुग्ने उनीहरूको भनाइ छ।
हाट लाग्ने दिन दासको पसलबाट मात्रै पहाडी क्षेत्रमा उत्पादित टमाटर र खुर्सानीको ३० देखि ४० क्रेटसम्म माग हुने गरेको छ। बर्दीबासमा करिब ९–१० वटा तरकारीका थोक विक्रेता छन् । पहाडी क्षेत्रबाट आपूर्ति रोकिएपछि उनीहरूको कारोबारमा समेत ठूलो गिरावट आएको व्यवसायीहरूले बताएका छन् । यसैबीच, भारतबाट हुने तरकारी आयातसमेत घटेको छ। जलेश्वर भन्सारस्थित प्लान्ट क्वारेन्टाइन प्रमुख किशोर यादवका अनुसार भदौ लागेदेखि भारतबाट हरियो तरकारीको आपूर्ति ठप्पजस्तै भएको छ।
उहाँका अनुसार अहिले सातामा दुईदेखि चार पिकअप मात्र भारतीय तरकारी आउने गरेको छ। पहाडी क्षेत्रबाट हुने आपूर्ति प्रभावित हुनु र भारतबाट समेत पर्याप्त तरकारी नआउनुले मधेशका बजारमा तरकारीको अभाव थप चर्किएको व्यवसायीहरूको भनाइ छ। बाढीपहिरोका कारण सडक तथा ढुवानी प्रणाली प्रभावित भइरहेमा आगामी दिनमा तरकारीको आपूर्ति थप प्रभावित भई मूल्य बढ्न सक्ने व्यवसायीहरूले चेतावनी दिएका छन् ।